‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगः लुम्बिनी फुटसल विजयी

आश्विन ०३,२०७८

-आस्था न्यूज

असोज ३,२०७८ काठमाडौं ।
 
पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगको दोस्रो दिन आइतबार रुपन्देहीका दुई क्लबबीचको प्रतिस्पर्धामा लुम्बिनी फुटसल विजयी भएको छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा लुम्बिनीले झरना स्पोर्ट्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
 
खेलको सुरुआतदेखि नै प्रभाव कायम गरेको लुम्बिनीले पाँचौं मिनेटमा कप्तान फिक्सो अन्जन थापाको गोलमार्फत अग्रता बनाएको थियो । त्यसको अर्को मिनेटमै फिक्सो रफी महर्जनले गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाए ।
 
दोस्रो हाफमा लुम्बिनीले ४ गोल थप्यो । दोस्रो हाफको पहिलो मिनेटमै अला रुपेन बराइलीले गोल गरी ३–० को अग्रता बनाए ।
 
२७ औं मिनेटमा झरनाका पिभोट मोहनबहादुर थापामगरले टिमका लागि पहिलो गोल गरे । तर ३१ औं मिनेटमा गेली शेर्पाले गोल गरेपछि लुम्बिनीले ४–१ को अग्रता लियो ।
 
३४औं मिनेटमा लुम्बिनीका अला रोजल दाहाल र ३६ औं मिनेटमा झरनाका पिभोट अमित गुरुङले गोल गरेपछि खेल ५–२ को स्थितिमा पुग्यो । रुपेनले व्यक्तिगत दोस्रो गोलका रुपमा ३८ औं मिनेटमा निर्णायक गोल गरे ।