त्रिकोणात्मक सिरज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

आश्विन ०५,२०७८

-आस्था न्यूज

असोज ५, २०७८ काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केको छ ।
 
नेपाली टिम बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
 
कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो ।
 
मुख्य प्रशिक्षक डेभ वाटमोर भने नेपाल आएनन् । ओमान पुगेपछि वाटमोरले यही टुर नेपाली टिमसँग आफ्नो अन्तिम रहेको र सिरिज सकिएपछि लागु हुनेगरी पदबाट राजीनामा दिएका थिए ।
 
उनी उतैबाट श्रीलंका प्रस्थान गरेका छन् । यस्तै नेपाली टिमका ट्रेनर राकेश काशीभाई गोएल पनि उतैबाट भारत गएका हुन् ।
 
ओमान भ्रमणमा नेपाले लिग २ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कुल ६ खेल खेलेको थियो । जसमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भयो ।
 
पहिलो पटक पपुवा न्यु गिनीविरुद्ध ओडिआई सिरिज खेलेको नेपालले दुवै खेल जितेको थियो ।
 
त्यसपछि नेपालले लिग दुईमा अमेरिका र ओमानविरुद्ध एकरएक खेल जित्यो । दुवै टिमसँग नेपालले एकरएक खेलमा भने हार बेहोर्‍यो ।
 
नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ ।