विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने चीनको घोषणा

आश्विन ०७,२०७८

-आस्था न्यूज

असोज ७, २०७८ काठमाडौं ।
चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् । 
 
कोइला ऊर्जा केन्द्रले कार्बन उत्सर्जनको मात्रा बढाइरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला चिनियाँ राष्ट्रपति सीले महत्त्पूर्ण घोषणा गरेका हुन् । यद्यपि उक्त नीतिबारे पूर्ण जानकारी भने राष्ट्रपति सीले उपलब्ध गराएका छैनन् । 
 
पछिल्लो समय कार्बन उत्सर्जनको मात्रा घटाउनका लागि चीनलाई कूटनीतिक दबाब दिइएको थियो । यसअघि गत वर्ष दक्षिण कोरिया र जापानले पनि कोइला ऊर्जा केन्द्र बन्द गर्ने घोषणा गरेका थिए ।
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र जलवायु परिवर्तनसम्बन्धी विशेष दूत जोन केरीले पनि चीनलाई कार्बन उत्सजर्न कम गर्नका लागि आग्रह गरेका थिए । ‘ विकासशील देशहरूमा कम कार्बन उत्सर्जन र हरित ऊर्जा विकासका लागि चीनले सहयोग गर्नेछ र विदेशमा नयाँ कोइला ऊर्जा योजना बनाइनेछैन,’ सीले सम्बोधनका क्रममा भने । राष्ट्रपति सीले चीनले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनेमा जोड दिने पनि बताए ।
 
अमेरिकाका पूर्वविदेशमन्त्रीसमेत रहेका केरीले चिनियाँ राष्टपतिको घोषणाको स्वागत गरेका छन् । यसले कार्बन उत्सजर्न कम गर्ने योजनामा ‘ठूलो योगदान पुर्‍याउने पनि उनको भनाइ छ ।
 
यही अक्टोबर ३१ देखि नोभेम्बर १२ मा स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) आयोजना हुँदैछ । कोप-२६ का प्रमुख आलोक शर्माले पनि राष्ट्रपति सीको घोषणाको प्रशंसा गरेका छन् । उनले आफू चीन भ्रमणमा जाँदा गरेका छलफलका विषय नै राष्ट्रपति सीबाट सम्बोधित भएको बताएका छन् ।
 
चिनियाँ राष्ट्रपति सीले सन् २०३० सम्म उल्लेख्य परिणाममा कार्बन उत्सर्जन कम गर्ने सन् २०६० सम्म कार्बन तटस्थताको उद्धेश्य हासिल गर्नेमा जोड दिए । विश्वमै सबैभन्दा बढी ‘ग्रीनहाउस ग्यास’ उत्सर्जन गर्ने चीन घरेलु ऊर्जामा भने कोइलामा बढी निर्भर रहेको छ । राष्ट्रपति सीको घोषणाको राष्ट्रसंघका महासचिव गुटेरसले समेत स्वागत गरेका छन् ।