ओलीका कारण एमालेका ठूला सांसद लाज मानेर पछाडिबाट भाग्छन्ः थापा
-आस्था न्यूज
असोज ७, २०७८ काठमाडौं ।
संसद्मा निरन्तर विरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएको कांग्रेस सांसद गगन थापाले बताएका छन् । एमालेका सांसदहरूले नै त्यसरी संसद् अवरुद्ध गर्न लाज मानेर पछाडिको ढोकाबाट भाग्ने गरेको पनि उनले बताए ।
ुपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ । उहाँलाई संसद् दख्नै हुन्न । प्रधानमन्त्री बनाएपछि आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्को पटकपटक भंग गर्नुभयो, थापाले भने, संसद् पुनर्स्थापित भइसकेपछि पंगु बनाउनुभएको छ ।
विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि एमालेको अवरोधका कारण आफ्ना कुरा राख्न नपाएको भन्दै थापाले दर्जनौं प्रश्न र असहमति त्यत्तिकै थाती रहेको बताए ।
ुराष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयकमा बोल्नु थियो । दर्जनौं कुरा सरकारलाई राख्नु थियो । विमती राख्नु थियो । आज बजेट पारित भयो । यो बजेटभित्र प्रतिपक्षी दलले उठाउनुपर्ने कुराहरू छैनन्? संसद्लाई यसरी पंगु बनाएर राख्ने ? उनले भने ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उठेका विषयको टुंगो सभामुखले लगाउन नसक्ने थापाको भनाइ थियो । सर्वोच्चमा विचाराधीन विषय संसद्मा प्रवेश नै गर्न नसक्ने उनले बताए ।
संसद्प्रति सांसद ओलीले राख्ने धारणालाई एमालेले आफ्नो धारणा बनाउँदा झनै समस्या भएको थापाको भनाइ थियो ।