ईपीएलः पहिलो खेलमा ललितपुरमाथि काठमाडौं किंग्सको शानदार जित

आश्विन ०९,२०७८

-आस्था न्यूज

असोज ९, २०७८ रामेछाप ।
विदेशी खेलाडीद्वय रहमनुल्लाह गुर्बाज र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० को पहिलो दिनको खेलमा शनिबार लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ ।
 
अफगानिस्तानका गुर्बाजले ३६ बलमा ५९ र बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभर भित्र १ सय ६० रन बनाउदै पुरा गर्‍यो ।
 
बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए ।
 
सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्प आउट गराए ।
 
यसअघि पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनाएको थियो ।
 
४० बलमा अर्धशतक बनाएका पवनले कूल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो ।
 
जितेन्द्र मुखियाले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाएका थिए ।
 
शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा ३३ रन बनाए । पवन र योगेन्द्रलाई जिम्बावेका बलर रायन बर्लले लगातार बलमा आउट गरे ।
 
रासिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए ।
 
काठमाडौं किंग्सका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ र शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।