Trending :
 

सय दिन नपुग्दै सरकारको बारेमा टिप्पणी गर्नुहुँदैन्ः रमेश लेखक

आश्विन ११,२०७८

-आस्था न्यूज

असोज ११,२०७८ काठमाडौं । 
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । 
 
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाईसक्ने उनको दाबी छ । 
 
उनले भने,‘आज सरकार बनेको दुई महिनाभन्दा बढि भैसकेको छ, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएन ? भनेर जनस्तरबाट आलोचना भैरहेको छ, बास्तवमा सरकारलाई पूर्णता नदिएको भनेर यो आलोचनाको विषय बनेको छ । ढिलो पक्कै पनि भएको हो । अहिले गठबन्धनको सरकार छ । 
 
गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहर छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ ।’
 
लेखकले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाए । ‘प्रम निर्वाचित भएको सय दिनसम्म टिप्पणी गरि नहाल्ने चलन छ’,उनले भने–‘टिप्पणी गर्नु त्यति वाञ्छनीय हुँदैन् । यो सरकार गठन भैसकेपछि सरकार कसरी अघि बढिरहेको छ ? भन्नु भन्दापनि पहिले, यो सरकार मुलुकको विशेष राजनीतिक परिस्थितिमा गठन भएको हो । कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको छ ।’
 
उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए । तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाई छ । उनले भने,‘बरु, यो तीन वर्षमा नेकपाको सरकारबाट संविधान कुल्चिने काम भयो । प्रकरान्तरले नेकपा तीन टुक्रा भयो । 
 
कांग्रेसले बाध्यताले सरकारको नेतृत्व ग्रहण गरेको हो । हामीले बडो सहज अवस्थामा सरकारको नेतृत्व लिएको होईन् । सरकार गठन भैसकेपछि गठबन्धनमा रहेका दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा गर्यौं । त्यसमा सरकारले के–के काम गर्ने प्राथमिकता भनेर पहिचान गर्ने काम भएको छ ।’
 
नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई खासगरी कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको सुनाए । उनले भने,‘कोभिडको जोखिमबाट जनतालाई बचाउने भनेर सरकारले पनि घोषणा गरेको छ । यो विषय गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पनि अभिव्यक्त भएको छ ।
 
कोभिडको प्रभावले मुलुकमा परेको नकारात्मक प्रभाव, यी सबै नकारात्मक प्रभावालाई न्यूनीकरण गर्ने, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने भनेर प्राथमिक कामको पहिचान गरेको छ । आज जनतालाई कोभिडबाट बचाउनको लागि सरकारले अत्यन्तै द्रुत गतिमा खोपको व्यवस्था गरेको छ ।
 
कोरोनाबाट जनता जोगाउने कामममा सरकार लागेको छ । अहिले संक्रमण दर घटिरहेको छ । अस्पतालमा भर्ना हुनेको दर घटेको छ । मृत्यु हुने दर पनि घटेको छ । सरकार अहिले कोभिडविरुद्धको लडाई लडिरहेको छ ।’
 
त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाए । उनले भने,‘हामी १४औं महाधिवेशनको पूर्व सन्ध्याामा छौं । महाधिवेशन प्रक्रिया सुरु भैसकेको छ ।
 
क्रियाशिल सदस्यताको विवाद छैन् । ६९ जिल्लाको क्रियाशिल सदस्यताको कामकुरा सम्पन्न भैसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ । ८ वटा जिल्लाको क्रियाशिल सदस्यताको गर्नुपर्ने निर्णय भैसकेका छन् । निर्णयबमोजिम कार्यसम्पादन गर्नुपर्ने केही काम बाँकी छन् । 
 
आज÷भोलिमा यी काम सम्पन्न हुनेछ । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ ।’
 
दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाई छ । उनले थपे,‘कुनै–कुनै जिल्लामा विषम् परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दशैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दशैंभित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन् । अहिलेपनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं ।’