विधान महाधिवेशनमा ‘फरक मत’लाई थाती राखेर अघि बढ्ने एमालेको निर्णय

आश्विन १२,२०७८

-आस्था न्यूज

असोज १२, २०७८ काठमाडौं ।
नेकपा एमालेले विधान महाधिवेशनमा पेस हुने राजनीतिक दस्तावेजमा भएका मतभेद तत्काल थाती राख्ने भएको छ । एमालेमा राजनीतिक–वैचारिक र सांगठनिक विषयमा संस्थापन पक्ष र दसबुँदे सहमतिका पक्षधर नेताबीच मतभेद छ ।
 
एमालेले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीमा पेस भएका तीनवटा दस्तावेजमाथि आएका ‘फरक मत’ लाई थाती राखेर उपयुक्त समयमा छलफल गर्ने निर्णय गरेको छ । महाधिवेशनसम्म पुग्दा विवादित विषयमा समान धारणा बनाउन सकिने नेताहरूको बुझाइ छ । 
 
विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान मस्यौदा प्रस्ताव स्थायी र केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए ।
 
राजनीतिक प्रतिवेदनमा दसबुँदे सहमति पक्षधर नेताहरूले फरक मत राखेका छन् । त्यसलाई थाती राखेर एमालेले विधान महाधिवेशनको तयारी गरेको छ । ‘हामीले विवादित मुद्दा छाडेका छैनौं, उपयुक्त समयमा छलफल गर्दै जाने समझदारी छ,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने । 
 
उनका अनुसार अध्यक्ष ओलीले यसबारे आश्वासन पनि दिएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले समय अभावका कारण धेरै विषयमा छलफल हुन नसकेको र उपयुक्त समयमा छलफल हुने बताए । ‘अहिले निर्वाचन आयोग र संवैधानिक कठिनाइका कारण विधान महाधिवेशन र पार्टीको अधिवेशन तत्काल सम्पन्न गर्नुपर्ने बाध्यता छ, त्यसका लागि पार्टीको ‘गाइडिङ डकुमेन्ट’ भनेको राजनीतिक प्रतिवेदन हो, त्यसकै आधारमा सांगठनिक र संशोधन गरिने विषयहरू आएका छन्,’ गुरुङले भने, ‘अन्य विषयमा छलफल गर्न हामीसँग पर्याप्त समय छैन तर केही विषयमा व्यापक छलफलको आवश्यकता छ । ती विषयमा पछि छलफल गरिन्छ ।’
 
तीनवटै प्रस्ताव केन्द्रीय र स्थायी कमिटी सदस्यबाट आएका सुझावसहित परिमार्जन गरेर अनुमोदन भएका छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईले दस्तावेजमा अझै थप स्पष्ट हुने र धारणामा एकरूपता बनाउने गरी छलफल भएको बताए ।
 
विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा अझै स्पष्ट हुने र धारणामा एकरूपता बनाउने विषयमा सबैले जोड दिनुभयो,’ सोमबारको स्थायी कमिटी बैठकपछि भट्टराईले भने, ‘बैठकमा खुलाखुलस्त छलफल भयो । आफ्ना तर्कका पुष्टि र केही खण्डनमण्डन पनि भए । 
 
जसले दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुगेको छ ।’ उनका अनुसार बैठकले एकमतका साथ सबै दस्तावेज विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ । कान्तिपुरबाट