बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी

आश्विन १३,२०७८

-आस्था न्यूज

असोज १३,२०७८ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए ।
 
विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ ।
 
राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए । उनले भने, ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु ।’
 
राज्यमन्त्री श्रेष्ठले हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाइरहेको समेत जानकारी दिए । उनले भने,  फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ ।’
 
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।
 
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए । उनले साइकल चढेर नागरिकहरुले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।