ईपीएलः दोस्रो खेल जित्दै चितवन टाइगर्स शीर्ष स्थानमा

आश्विन १४,२०७८

-आस्था न्यूज

असोज १४,२०७८ काठमाडौं ।
 
लगातार दोस्रो खेल जित्दै चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्‍यो ।
 
चितवनले १ सय ४२ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो । राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरी चितवनलाई विजय दिलाएका हुन् । राजेश २९ बलमा २ छक्का प्रहार गर्दै २६ र कमल १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे ।
 
ओपनर इशान पाण्डे ४, मोहम्मद साहजाद १७, करिम जन्नत २१, भीम सार्की २६, दीलिप नाथ २३, सेकुगे प्रसन्न ५ र कप्तान सोमपाल कामी शून्यमा आउट भएका थिए । काठमाडौं किंग्सका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा कप्तान सन्दीप लामिछानेसहित जनक प्रकाश र गुलशन झाले १-१ विकेट लिए ।
 
चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।
 
यसअघि चितवनले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमाडौं किंग्सले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।
 
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं किंग्सबाट ओपनर सुवास खकुरेलले ३४ बलमा सर्वाधिक ३५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ र जनक प्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए ।
 
रहमनुल्लाह गुरबाज ५, अमित श्रेष्ठ ६, रायन बर्ल शुन्य, गुल्शन झा ४, अमरसिंह रौटेला ५ रनमा आउट भए । सिद्धान्त लोहनी ८ र कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । म्यान अफ द म्याच देव्रेहाते स्पिनर सागर ढकालले ४ विकेट लिए ।
 
उनले ४ ओभरमा २१ रन खर्चे । अफगानिस्तानका बलर करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी र सेकेगु प्रसन्नले १–१ विकेट लिए ।