एमाले विधान महाधिवेशन सुरु:
केही व्यक्तिका कारण एमाले र माओवादीको नेकपाले पूर्णता नपाएको ओलीको भनाई
-आस्था न्यूज
असोज १५, २०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् ।
शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’
उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए ।
उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए ।
यसैगरी, विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो ।
यता पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव नै गरिएको छैन । पौडेलको प्रस्तावमा ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । प्रस्तावमा केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ