प्रिमियर लिगः साउथह्याम्पटनलाई हराउदै चेल्सी विजयी

आश्विन १७,२०७८

-आस्था न्यूज

असोज १७, २०७८ काठमाडौं ।
खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
 
शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।
 
 
यसको फाइदा उठाउँदै ८४ औँ मिनेटमा टिमो वेर्नरले पुनः चेल्सीलाई अग्रता दिलाए भने ५ मिनेटपछि बेन चिल्वेलले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे । ७ खेलपछि १६ अंकसहित चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन भने ४ अंकसहित लिगको १७ औँ स्थानमा रहेको छ ।