Trending :
 

कानुनले अनुमति दिएको जुनसुकै काम गर्न कार्यकर्तालाई ईश्वर पोखरेलको सुझाव

आश्विन १७,२०७८

-अस्था न्यूज

असोज १७, २०७८ काठमाडौं ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको प्रथम विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्दै उनले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्नका लागि एउटा टिम बनाइएको र त्यो टिमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाए ।

उनका अनुसार राज्यको कानुनले अनुमति दिएको जुनसुकै काम गरे हुन्छ । त्यस्तै, समाजका अग्रगामी मूल्य मान्यताको पक्षमा रहेका जुनसुकै काम पार्टीका कार्यकर्ताले गरे हुन्छ । त्यसैगरी कम्युनिस्टको आचरण र नैतिकताले दिने जुनसूकै काम गरे हुन्छ । चौथोमा उनले पारदर्शी हुने जुनसुकै काम गरे हुने प्रस्ट पारे ।

उनले अब पुस्ताहरुबीचको कम्पोजिसन जरुरी रहेको पनि बताए ।

हिजो कुनैबेला पूर्णकालीन कार्यकर्ता भनेपछि त्यो नै सबैभन्दा ठुलो मापदण्ड रहेको चर्चा गर्दै पोखरेलले भने, ‘अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गाँसिदैनौं भने हाम्रो पंक्ति स्खलित हुन सक्छ । त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’