आश्विन १८,२०७८
-अस्था न्यूज
असोज १८,२०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् ।
लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी(चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ, उनले भने ।
त्यस्तै सांसद यादवले विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् । मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यादवले समितिमा भने, विवाहको उमेर घटाउनै पर्छ । पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ ।
युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ । पढाउन गाह्रो छ। यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका थिए ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा यस्तो कानुनी व्यवस्था छ, शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिनेः १ दफा ६९ को उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ।
समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने पनि बताए ।
प्रमुख समाचार