Trending :
 

अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको आएको प्रकाशमान सिंहको भनाई

आश्विन २०,२०७८

-आस्था न्यूज

असोज २०, २०७८ काठमाडौं ।
कांग्रेस नेता प्रकाशमान सिंहले अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको रहेको बताएका छन् । उनले पार्टीमा यतिका वर्षसम्म काठमाडौंबाहिरका नेताहरू मात्रै सभापति बनेको भन्दै यसपटक काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए ।
 
‘यतिका वर्ष काठमाडौंबाहिरले नेतृत्व गरेको हो । अब पालो काठमाडौंको हो । कि हामी सधैँ अरूको झोलामात्रै बोकेर हिँड्नुपर्ने हो ?,’ सिंहले प्रश्न गर्दै भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?’
 
नागार्जुन नगरपालिकामा नवनिर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै नेता सिंहले आसन्न महाधिवेशनमा आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताए ।
 
‘१३ औँ महाधिवेशनमा मैले आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको थिएँ । सधैँ मैले मात्रै त्याग गर्ने भनेर हुँदैन । म पहिलो निर्वाचित महामन्त्री हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म त्यस बेला शशांक कोइरालाको प्रस्तावक बसेँ,’ नेता सिंहले भने, ‘यसपटक सभापतिमा म उठ्ने हो ।’
 
उनले पार्टीमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको बताए । नेता सिंहले पार्टीलाई संस्थागत गर्नुपर्ने बताउँदै कांग्रेसमा गुट नै गुट रहेको भन्दै एक कांग्रेस, बी कांग्रेस, सी कांग्रेसभन्दा पनि जनताले नेपाली कांग्रेस खोजेको बताए । उनले यो महाधिवेशनले जनताले खोजेजस्तो सभापति चुन्नुपर्ने आवश्यकता रहेको बताए ।