प्रहरीले पक्राउ गरेको रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४, २०७८ काठमाडौं ।
 
माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
 
पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।
 
बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।
प्रहरीले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।
 
मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको अवस्थाबारे छानबिन तथा अनुसन्धान गर्न माग गर्दै उनीहरु नेपालगन्जबाट २० दिनको पैदलयात्रा गरी काठमाडौं आइपुगेका हुन् । 
 
हत्यामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस् भन्दै पीडितहरूले आवाज उठाउँदा अपमानित गरेको, अभद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झुटा मुद्दामा फसाएको भन्दै बाँके जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई तुरुन्त विभागीय कारबाही गर्नसमेत पीडितले माग राखेका छन् ।