प्रहरीको गोली लागेर ३ जनाको मृत्यु :

(अपडेट) मोतीपुर औद्योगिक क्षेत्रमा तनाव बढेपछि कर्फ्यू लगाइयो

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४, २०७८ काठमाडौं ।
 
निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । 
 
आइतबार दिउँसो औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । झडपमा ६ जना घाइते भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
 
जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
 
प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।
 
बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न सक्ने देखिएकोले शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ,आदेशमा भनिएको छ ।
 
(अपडेट)
गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो ।  यसैगरी एक जनाको अवस्था गम्भीर रहेको छ ।
 
मेडिकल कलेजमा अहिले  ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।  यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि  गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन् ।