पोखरा अन्तर्राष्ट्रिय उडान सहज बनाउन रिठ्ठेपानी डाँडा कटानका लागि सरकारले सहजीकरण गर्ने

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उनले बताएका हुन् ।
 
सोमबार निर्माणाधिन विमानस्थलको अवलोकनमा पुगेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराए । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी मुनकर्मीले गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताए । 
 
बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उनले बताए ।
 
आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा आइतबार सेनाको हेलिकप्टरबाट पोखरा आएका उनी सोमबार पोखरा विमानस्थलबाट हेलिकप्टरमै निर्माणाधिन विमानस्थल पुगेका थिए । विमानस्थल अवलोकनपछि उनी काठमाडौं फर्किएका छन् ।
 
हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडानसञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।