मुगु दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

आश्विन २६,२०७८

-आस्था न्यूज

असोज २६, २०७८ काठमाडौं ।
मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
 
दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।
 
दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको विमानबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ । अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी श्रेष्ठको भनाइ छ । घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।
 
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पुर्‍याउनेछ । सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो ।