दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरियो

आश्विन २७,२०७८

-आस्था न्यूज

असोज २७,२०७८ काठमाडौं।
यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । ‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन्,’ उनले भने ।
 
यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एकरएक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
 
राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । गत सोमबारदेखि यो सेवा बन्द भएको छ । तिहार र छठ पर्वका लागि भने दसैं बिदापछि आवश्यकताअनुसार नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन । तर बैंक तथा वित्तीय संस्थालाई भने यो सुविधा दिइएको थियो । सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्दा पनि त्यसबेला ३३ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको थियो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ५२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।
 
दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै थियो । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनका सिक्का ९चाँदीका स्मारिका सिक्का र सुनका असर्फी० पनि धेरै बिक्री हुँदै आएको छ ।
 
बर्सेनि दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले यसको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । फलतः खर्च गर्ने प्रवृत्ति पनि बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य पनि बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति ९भाउ० घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न दिन नहुने अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको पनि उनीहरूको भनाइ छ । कान्तिपुरमा खबर छ ।