Trending :
 

ओलीले इन्टरनेट सुविधा भएका ७५३ वटै पालिकालाई एकसाथ सम्बोधन गर्ने

कार्तिक ०५,२०७८

-अस्था न्यूज

कात्तिक ५, २०७८ काठमाडौं ।
नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ ।  जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ ।

विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ ।

‘वडा अधिवेशनको  माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ ।

यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदि सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ ।

केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले गरेको पत्राचारमा स्थानीय कमिटीहरूको अधिवेशन वडा तहको अधिवेशन ६ कात्तिक र पालिका अधिवेशन ९ कात्तिकमा एकैदिन सम्पन्न गर्नुपर्ने पार्टीको निर्णयलाई स्मरण गराएको छ ।