Trending :
 

देउवाका कारण काँग्रेस अवैध हुने अवस्थामा पुगेको प्रकाशमानको आरोप

कार्तिक ०७,२०७८

-अस्था न्यूज

कार्तिक ७,२०७८ काठमाडौं ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिक प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।
 
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुङ्ग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो ।  पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार–चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिए ।

तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो । आफ्नो स्वार्थ पुरन गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे ।

१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने उनको दाबी छ । सिंहले भने, ‘महाधिवेशन सुरु भइसक्यो । क्रियाशील सदस्य नदिने के तरिका हो यो रु परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने सिंहको चेतावनी छ । सिंहले भने, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’ पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले भने, ‘ए काँग्रेस, बी काँग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियमअनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’  

फरक प्रसङ्गमा नेता सिंहले  काँग्रेस नेतृत्वको कमजोरीका कारण कम्युनिस्टहरूले व्यवस्थामाथि प्रहार गर्ने सुरु गरेको बताए । हर हालतमा काँग्रेस महाधिवेशन सम्पन्न गरेर संसद सञ्चालन र राष्ट्रिय राजनीति आङ्कलन गरेर अगाडि बढ्नुपर्ने बताए । साथै नागरिकता लगायत  मधेसका  मुद्दाहरु विधि प्रक्रिया अवलम्बन गरेर तत्कालै हल गर्नुपर्ने बताए ।

मधेस र हिमाली क्षेत्रमा सीमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको समेत बताए । नेता सिह आइतबार महोत्तरीमा आज आयोजित कार्यक्रममा सहभागी हुने क्रममा जनकपुर पुगेका थिए ।