अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट दिइन राजीनामा
-आस्था न्यूज
कार्तिक १०, २०७८ काठमाडौं ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।
उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।
शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।
प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।