६ महिनाभित्र सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन
-आस्था न्यूज
कात्तिक ११, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
बिहीबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।
आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ,आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ,’ बैठकमा देउवाले निर्देशन गरेका छन् ।
प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो ।
तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।
केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र संगठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।