तिहारमा मखमली मालाको माग स्वदेशी उत्पादनले नै धान्ने
-आस्था न्यूज
कात्तिक १४, २०७८ काठमाडौं ।
यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् ।
साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको छ । यसकारण गत वर्षभन्दा यसपटक फूलमाला धेरै किनबेच हुनेछ । गत वर्ष तिहारको तुलनामा यो वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ ।’
गत वर्ष कोभिड-१९ महामारीका कारण तिहारमा जम्माजम्मी १३/१४ लाखवटा माला बिकेका थिए । तामाङले गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिकेको तथ्यांक संकलन भएको बताए ।
उनले यो वर्षको तिहारमा १८/१९ लाखवटा माला खरिदरबिक्री हुने आँकलन गरेको जानकारी दिए । मखमली र गोदावरीको माला ३ लाखवटा र सयपत्रीका १५ लाखवटा माला बिक्री हुने उनको भनाइ छ ।
तिहारमा बजारबाट आउने मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्ने आंकलन छ । तिहारको माग धानेर मखमलीको एक लाखवटा माला निर्यातसम्म हुने एसोसिएशनले जानकारी दिएको छ ।
तर, तिहारमा सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त छैन । तिहारमा १५ लाखवटा माला खपत हुनेमा स्वदेशी उत्पादनबाट करिब १२ लाखवटा माला बन्ने एसोसिएशनले जनाएको छ ।
बाँकी मालाको माग धान्न भारतबाट ३ लाख गोटा हाराहारीमा आयात गर्नुपर्ने हुन्छ । कात्तिकको पहिलो साता बेमौसमी वर्षा नपरेको भए मालाको आयात तथ्यांक घट्न सक्थ्यो ।