Trending :
 

प्रदेश १ मा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय

कार्तिक १५,२०७८

-आस्था न्यूज

कात्तिक १५, २०७८ काठमाडौं ।
 
प्रदेश  १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई  समर्थन गर्ने निर्णय गरेको हो ।
     
काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
 
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ ।  
 
एमाले विभाजित हुँदा १० जना प्रदेश सांसद् एकीकृत समाजवादीमा लागेपछि एकल बहुमतमा रहेको मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । 
 
प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ । 
 
विपक्षी गठबन्धन काँग्रेसको २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् ।