तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा माधवकुमार नेपाल
-आस्था न्यूज
कात्तिक १६, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।
उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए ।
नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए ।
गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफूले चाहेमा तत्कालै ढाल्न सक्ने भनेकोतर्फ लक्षित गर्दै नेता नेपालले ‘क्षेप्यास्त्र हानेर सरकार ढाल्ने?’ भन्दै प्रतिप्रश्न गरे । ओली गफाडी नेता रहेको भन्दै उनले सरकार ढाल्ने कुरा दिवास्वप्न मात्र भएको बताए ।
घर घरमा ग्याँस, नेपाली झण्डावाल पानी जहाज सञ्चालन गर्नेजस्ता हावादारी गफ दिएको भन्दै उनले ओलीका अभिव्यक्तिलाई गम्भीरताका साथ हेर्न जरुरी नरहेको बताए ।
उनले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनबिच छलफल नभएको बताए । यसबारे पाँच दलका शीर्ष नेताबीच छलफल हुने पनि उनले प्रस्ट पारे ।