भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापाले जित्यो
-आस्था न्यूज
कात्तिक १६, २०७८ काठमाडौं ।
झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।
त्यसपछि दबाबमा परेको झापा पहिलो हाफमा खेलमा फर्किन निकै कसरत गरे पनि सफल हुन सकेन । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको झापाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
३९औं मिनेटमा श्याम कुमार गोलले गोल गर्दै दोस्रो हाफको सुरुआतमा खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको फाइनल खेलमा दुबै टोली स्पष्ट जितका लागि प्रयास गरे । तर पाएको केही राम्रा अवसर विफल भएका थिए ।
काउन्टर गर्ने क्रममा झापाले इन्जुरी समयमा गोल गर्दै जित निश्चित गर्न सफल भयो । बराबरी गोल फर्काएका श्याम कुमार गोलले नै विजयी गोल गर्दै टोलीको जित पक्का गरे ।
खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।