नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश
भारतमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति
-
कात्तिक १६, २०७८ काठमाडौं ।
नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।
दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर(मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् ।