एमसीसी फिर्ता लिन अमेरिकासँग वामदेव गौतमको आग्रह
-आस्था न्यूज
कार्तिक २४, २०७८ काठमाडौं ।
नेकपा ९एमाले० परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गरेका छन् ।
बुधबार विज्ञप्ति प्रकाशित गर्दै गौतमले एमसीसीको परियोजनाले नेपालको हितभन्दा पनि जनमनको गम्भीर विभाजन गरी अहित अवस्था सिर्जना हुने देखिएकाले फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका हुन् ।
ुएमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनको कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले छ, गौतमले भनेका छन्, नेपालमा अहिलेको जटिल अवस्थामा जुन प्रकारको सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता लिन विनम्र अनुरोध गर्दछु ।
गौतमले एकपक्षीय रुपमा परियोजना फिर्ता गरेर नेपालको हित प्रवर्द्धन गर्न आग्रह गरेका छन् । अमेरिकालाई नेपाली जनताले राम्रो मान्दै आएको र एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिएको देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ, गौतमले भनेका छन् ।
विद्युत् प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतीका लागि अमेरिकाको ५० करोड अमेरिकी डलर र नेकपाको १३ करोड डलरको लगानीमा संयुक्त परियोजना सञ्चालनका लागि एमसीसीसँग सम्झौता भएको थियो । सो सम्झौता संसद्बाट अनुमोदन हुन सकेको छैन । सम्झौता अनुमोदनको विषयमा राजनीतिक दल र जनमत विभाजित रहेको छ ।