माओवादी केन्द्र छाडेका रामचन्द्र झा नेकपा एकीकृत समाजवादीमा प्रवेश
-आस्था न्यूज
कार्तिक २४, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्र छाडेका रामचन्द्र झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध लड्न आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताएका छन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेर नै आफूले माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने निधो गरेको बताए ।
उनले भने, ‘माओवादी केन्द्रमा रहेर ओली प्रवृत्तिका विरुद्ध लड्न सकिँदैन, ओलीसँग लड्नका लागि एमालेबाट अलग हुनुभएका माधवकुमार नेपालकै साथमा रहेर मात्र सम्भव हुन्छ ।’
आफू एमाले पार्टीमा रहेर लामो समय काम गरेको र सबैलाई बुझेकाले पनि नेकपा एकीकृत समाजवादीमा रहेर काम गर्न सजिलो हुने उनको भनाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीकै बैठकमै ‘रामचन्द्र झाले पार्टी छाड्न थाल्नु भएको छ, उहाँलाई सबैजनाले शुभकामना दिनुस्’ भनेको सुनाउँदै झाले आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत अन्य नेताहरुसँग बिदा भइसकेको बताए ।
‘अन्ततः एक न एक दिन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकीकरण हुने निश्चित छ, अहिले सुरुमा गठबन्धन वा मोर्चा बनाएर सँगै जाने कुरा भएको छ, पछि एकीकरण नै हुने हो,’ उनले भने ।
मंसिर ७ गते जनकपुरमा एउटा कार्यक्रम गरेर आफू औपचारिक रुपमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बताउँदै झाले आफूसँग अन्य नेता तथा कार्यकर्ता समेत प्रवेश गर्ने बताए ।