कांग्रेसमा रुपान्तरण जरुरी भएको वरिष्ठ नेता पौडेलको भनाई
-आस्था न्यूज
कात्तिक २९,२०७८ काठमाडौं ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् ।
कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका रानीवास आएका पौडेलले कांग्रेसलाइ नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने दाबी गरे । महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको बताए ।
निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो । साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालोु भएको बताएका थिए ।
चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्नँ । माइन्ड गर्दिँन, पौडेलले भने ।
आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पोडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गार्हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताए ।