Trending :
 

एमाले सहभागी नभएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएनन्

कार्तिक ३०,२०७८

-आस्था न्यूज

कार्तिक ३०, २०७८ काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।
 
मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
 
मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनले बताए ।
 
नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे ।
 
मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो । तर नेकपा एमालेले भने विप्लव समूहले गरेको बन्दका कारण आफ्ना सांसदहरु प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक स्थगित गर्न नहुने अडान लिएका थिए ।
 
सभामुख भण्डारीले प्रदेशसभा बैठक त बोलाए, तर प्रतिपक्षी दलका सांसदहरु सहभागी नभएको भन्दै बैठक बुधबारसम्मका लागि स्थगित गरिदिए ।
 
विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए ।