Trending :
 

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्‍वासको मत

मंसिर ०१,२०७८

-आस्था न्यूज

मंसिर १,२०७८ काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट बुधबार विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो ।
 
पाँच दलीय गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसद्‍ले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।
 
विपक्षमा भने एमालेका २९ सांसद्‍ले मतदान गरेका थिए। एमालेका अरु ११ र विपक्षी दल राप्रपाका १ बैठकमा अनुपस्थित थिए । प्रदेश १ मा जम्मा ९२ जना सांसद्‍मध्ये नेकपा एकीकृत समाजवादीका नेता राईलाई गठबन्धन दलका सांसद्‍हरूले समर्थन गरेका हुन् ।
 
एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्ने राई दोस्रो नेता हुन् ।यसअघि वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकै नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् ।