Trending :
 

कर प्रणाली र करदाताका समस्या तत्काल समाधानका लागि संयन्त्र निर्माण गरिने

मंसिर ०१,२०७८

-आस्था न्यूज

मंसिर १,२०७८ काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् ।
 
दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।
 
‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाईरसंयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।’ मन्त्री शर्माले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताए ।
 
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रहसमेत गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको बताउँदै मन्त्री शर्माले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।
 
मन्त्री शर्माले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए ।
 
पेपरलेस’,‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै मन्त्री शर्माले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर, सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु ।’
 
कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीनवटा प्रतिबद्धता व्यक्त गरेका छन् । शर्माले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाईरसंयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता जनाए ।
 
यसैगरी, अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । मरासिनीले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवासुविधा उपलब्ध हुने बताउँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए ।