मङ्सिर १० देखि हुने एमाले महाधिवेशन उद्घाटनका लागि तयारी तीव्र
-आस्था न्यूज
मंसिर ४, २०७८ काठमाडौं ।
पर्यटकीय सहर चितवनमा मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको छ ।
महाधिवेशन उद्घाटनमा पाँच लाख कार्यकर्ता उतार्ने योजनासहित मञ्च व्यवस्थापन, सजावट, आवास, बन्दसत्र स्थलको बन्दोबस्ती कार्यमा पाँच सयभन्दा बढी कार्यकर्ता खटिरहेका छन् । महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा गरिने छ, जसका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बन्द सत्र सौराहास्थित हात्तीसारमा गरिने जनाइएको छ । त्यस्तै देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिलाई सौराहास्थित होटलहरूमा बसोबासको व्यवस्था गरिने जनाइएको छ ।
नेकपा ९एमाले० चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने गरी तयारी थालिएको जानकारी दिनुभयो । सो सभामा चितवनबाट एक लाख जनता उतार्ने तयारी एमालेको छ ।
अध्यक्ष रावलले भन्नुभयो, “जनसहभागिता, उद्घाटनस्थल र बन्दसत्रलाई व्यवस्थित र सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा हाम्रा तयारी केन्द्रित छन् ।”
महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारका खाल्डाखुल्डी सम्याउने र मञ्च निर्माणको काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार एक सय अतिथि अट्ने गरी आकर्षक मञ्च निर्माण गरिने छ । उहाँका अनुसार आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च निर्माण गरिँदै छ । मञ्चलाई चार खण्डमा विभाजन गरिने छ ।
माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा ‘पोडियम’ रहने छ । नारायणी नदीको पुल र गैँडाकोट तर्फको नदी किनारबाट समेत सभास्थललाई हेर्न मिल्ने गरी मञ्चको ढाँचा तयार पारिने स्वयंसेवक संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मञ्चको व्यवस्थापनसँगै ‘सेल्फी’ प्वाइन्टसमेत बनाइने छ ।
महाधिवेशन उद्घाटन सभाका लागि चितवनका सात स्थानबाट जुलुस निकालिने जनाइएको छ । अध्यक्ष रावलले भन्नुभयो, “विभिन्न जिल्लाबाट सभामा आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । ”
भरतपुरको केन्द्रीय बसपार्क, आँटपारी, हाकिमचोक, चौबीसकोठी, बेलचोक, विशालचोक र गैँडाकोटबाट जुलुससहित महाधिवेशन उद्घाटन स्थलमा पुग्ने तयारी एमालेको छ । जुलुसलाई केन्द्रीय नेताहरूले नै नेतृत्व गर्नुहुने छ । जहाँबाट जुलुस सुरु हुन्छ त्यहीँ आसपासमा सवारी साधनहरूको पार्किङको व्यवस्था मिलाइएको छ ।गोरखापत्रबाट