जितिन्छ कि हारिन्छ भनेर बस्यो भने त भोलि महाधिवेशनमा कसैको उम्मेद्धवारी नपर्ने खतरा हुन्छः रावल
-आस्था न्यूज
मंसिर ५,२०७८ काठमाडौं ।
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमार्फत रावलले आफूले पार्टीको यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन ।
उनले आफूले अध्यक्षमा उम्मेद्धवारी घोषणा भने पार्टी मुख्यालय थापाथलीबाट नै गर्न चाहेको र सोहीअनुसार पार्टी महासचिवलाई खबर गरेको भएपनि अहिले महाधिवेशनको तयारी चलिरहेकोले ठाउँ अभावका कारण आफू क्लबमा आउनु परेको पनि सुनाए ।
आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि रावलको भनाई छ ।
उनले भने,‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
रावलले आफूले देखाउनको लागि मात्रै उम्मेद्धवारी घोषणा नगरेको जिकिर गरे । उनले भने,‘पहिलो कुरा त यो कुनै सञ्चारमाध्यमका साथीहरुलाई या जनसमूदायलाई देखाउनको लागि उम्मेद्धवारी घोषणा गरेको भन्ने हुँदै होईन् ।
किनभने अब साँच्चिकै भन्नुहुन्छ भने हाम्रो पहिले पहिलेको महाधिवेशन हेर्नुहुन्छ भने उम्मेद्धवारी दिन एकदमै ढिला भैसकेको छ । त्यसकारण यो कुनै देखाउनको लागि नभई अब महाधिवेशनको पूर्वसन्ध्यामा साँच्चिकै उम्मेद्धवारी दिनको लागि नै यो गरिएको कुरा हो । यो देखाउनको लागि भन्ने कुरा चाहीँ होईन् । त्यो गलत कुरा हो ।
पछि के गर्नुहुन्छ भन्नुभयो, यो मेरो राजनीतिक घोषणा हो, अब महाधिवेशनको थलोमा गैसकेपछि त्यसको प्रक्रिया त्यहाँ आरम्भ होला, या कहीँबाट आरम्भ भएपछि मैले त्यहाँ आफ्नो नामांकन दाखिला गर्नुपर्छ । म त्यो दिशामा अगाडि बढ्छु ।’
उनले महाधिवेशन नेतृत्व चयनको लागि भएको उल्लेख गर्दै आफूले नेतृत्वमा उम्मेद्धवारी दिन्छु भन्ने कुरालाई कसैले पनि अस्भाविक ठान्न नहुने स्पष्ट पारे । आफूले उठाउँदै आएका कुरा ‘नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने संयुक्त सैन्य अभ्यास, नेपालको नक्शा प्रकाशन र अहिले एमसीसी’ लगायत कुनैपनि कुरा अस्भाविक नभएको रावलको भनाई छ ।
उनले भने,‘मैले उठाएका ती कुनैपनि कुरा अस्वभाविक थिएनन्, ती नेपालको संविधान, कानून, नेपाल कम्युनिष्ट पार्टीको नीति र सिद्धान्तबमोजिम उठाउनुपर्ने कुरा थिए । र, त्यो पनि अस्वभाविक थिएनन् । र, त्यो कुनै व्यक्तिविशेषलाई आलोचना गरिएको थिएन । जस्तो मान्नहोस, नागरिकतासम्बन्धी विद्येयक ल्याउनुपर्छ नेपालको संविधानअनुसार ल्याउनुपर्छ ।
नेपालीहरु सबैले नागरिकता पाउनुपर्छ । तर, विदेशीले कसैले घुस खुवाएर लिन पाउनुहुँदैन भन्दा त्यो कुनै व्यक्तिको आलोचना होईन ।’ उनले आफूले एमालेलाई मिलाउनको लागि कार्यदलमा रहेर सक्रियतासाथ महत्वपूर्ण काम गरेको पनि स्मरण गराए ।
उनले आफूले वरिष्ठ उपाध्यक्षमा बार्गेनिङ गर्नकोलागि अध्यक्षमा उम्मेद्धवारी घोषणा नगरेको पनि जिकिर गरे । उनले भने,‘मैले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको छु, मलाई त्यसभन्दा तल नझार्नुहोस न ।’ रावलले आफूले प्यालन नबनाएको पनि घोषणा गरे ।
उनले रावलले उम्मेद्धवारी दिने कुरा प्रत्येक व्यक्तिको आफ्नो ईच्छाको कुरा भएको पनि उल्लेख गरे । उनले भने,‘कुन बेला कसले कुन समयको चयन गर्छ, त्यो पनि निज व्यक्तिकै कुरा भयो । जहाँसम्म सहमतिको कुरा गर्नुभयो, सहमति खोज्ने कुरा त संस्थागत रुपमा हुनुपर्यो नि, आजसम्म हाम्रो पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन् ।
अब त्यसपछि महाधिवेशन आईहाल्यो । अब आफ्नो जुन राजनीतिक मान्यता छ, जे कुराको लागि झण्डै ५० वर्ष यो पार्टीमा काम गरियो, ती मूल्य र मान्यतामा अडिने कुरा प्रमुख हो । जहाँसम्म जीत र हारको कुरा छ, अहिलेको अध्यक्षले पनि ८औं महाधिवेशनमा हार्नुभएको थियो, म उहाँको उपाध्यक्ष थिएँ, मैले पनि हारेको थिएँ ।
अरु थुप्रै नेताहरुले हार्नुभएको छ, जब व्यक्ति राजनीतिक मूल्य, मान्यता र आदर्श अनि राष्ट्रको हितको बाटोमा अगाडि बढ्छ, त्यहाँनिर जित र हार भन्ने कुरा गौण हुन्छ, आफ्नो मान्यता, मूल्य, सिद्धान्तलाई स्थापित गर्ने राष्ट्रको पक्षमा आवाज मुखरित गर्ने कुरा महत्वपूर्ण हुन्छ ।
यद्धपी कुनै पदविशेषमा उम्मेद्धवार बनेर जितेर आएर नीति कार्यान्वयन गर्ने पनि उद्देश्य रहन्छ, अब अहिलेनै जितिन्छ कि हारिन्छ भन्ने कुरा त त्यो त प्रतिनिधिले फैसला गर्नुहोला नि । अहिले नै जितिन्छ कि हारिन्छ भनेर उम्मेद्धवारी नै नदिने हो भने त भोलि महाधिवेशनमा त कसैको उम्मेद्धवारी नपर्ने खतरा हुन्छ ।’