चालू आर्थिक वर्षको चार महिनामा एक लाख ३६ हजारलाई श्रम स्वीकृति

मंसिर ०६,२०७८

-

मंसिर ६, २०७८ काठमाडौं ।
चालू आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
 
पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
 
विभागका अनुसार चालू आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।
 
प्रमुख गन्तव्य कतार
चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् । कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स ९यूएई०, मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन् ।
 
विभागका अनुसार कात्तिकमा विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । सो अवधिमा ६८ जना व्यावसायिक रूपमा गइरहेका छन् भने चार हजार ६५९ जना अर्धदक्ष छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४५६ जना दक्ष र २६ हजार ७२३ जना अदक्ष रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
 
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जान थालेपछि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।
 
विभागका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा प्रमुख सात श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा जानेको सङ्ख्या सबैभन्दा बढीले घटेको थियो । आर्थिक वर्ष २०७६/७७ तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा सो सङ्ख्या एक लाख ६६ हजार ३०५ मा सीमित भएको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख सात हजार ८१७ नेपाली श्रम स्वीकृति लिएर विदेश गएका थिए । गोरखापत्रबाट