श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि दुई सिफ्टमा सेवा प्रवाह गर्न निर्देशन

मंसिर ०७,२०७८

-आस्था न्यूज

मङ्सिर ७,२०७८ काठमाडौं ।
वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ ।
 
श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । गुनासो बढेपछि मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चार बुँदे निर्देशन दिएको हो ।
आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।
 
विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयको निर्देशन अनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।