प्रहरी हिरासतमा मृत्युका घटना रोक्न एम्‍नेस्टी नेपालको आग्रह

मंसिर ०७,२०७८

-आस्था न्यूज

मंसिर ७, २०७८ काठमाडौं ।
प्रहरी हिरासतमा मृत्युका घटना रोक्न एम्नेस्टी नेपालले सरकारलाई आग्रह गरेको छ । हिरासतमा मृत्युका घटना रोक्नका लागि नेपालका अधिकारीहरूले उचित कानुनी जवाफदेहिताका उपायहरूसमेतका माध्यमबाट तत्काल र प्रभावकारी कदमहरू चाल्नुपर्ने एम्नेस्टी इन्टरनेसनल नेपालले जनाएको छ।
 
हिरासतमा मृत्युका घटनाहरू रोक्न माग गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले मंगलबार वार्षिक अभियान अधिकारका लागि पत्र लेखन अर्थात राइट फर राइट्स् २०२१ को सुरुवात गरेको छ । राइट फर राइट्सु एम्नेस्टीको एउटा प्रमुख विश्वव्यापी अभियान हो र यो विश्वकै सबैभन्दा ठूलो मानवअधिकारसम्बन्धी कार्यक्रम पनि हो । यसले संसारभरि जोखिममा परेकाहरूको अधिकारको संरक्षण गर्न मानिसहरूलाई एकजुट गराउँदछ।
 
गत तीन महिनामा मात्रै हिरासतमा कम्तिमा पनि छ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालय दुवैले यस्ता मृत्युका घटनाको कुनै अभिलेख नराखेको र कुनै आधिकारिक अभिलेख नभएकोले यसरी हिरासतमा भएका मृत्युका घटनाहरूको एकिन तथ्यांक नभएको एम्नेस्टी नेपालले जनाएको छ ।