सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन गर्ने

मंसिर ०८,२०७८

-आस्था न्यूज

मंसिर ८, २०७८ काठमाडौं ।
सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।  सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो ।
 
सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जूम मिटिङबाट सहभागिता जनाउन सकिनेछ भने भौतिक रूपमा उपस्थित हुन चाहनेहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ ।
 
सम्मेलनको उद्घाटन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने छिन् भने आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुने बताइएको छ । 
 
सबै सत्रहरूमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने गैसस महासंघ नेपाल तथा आवास पुनर्स्थापना तथा पुनर्निर्माण समन्वय मञ्च (एचआरआरपी) का राष्ट्रिय संयोजक मिनार थापामगरले जानकारी दिए ।
 
उनले सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिने बताउँदै सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने बताए ।
 
राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशहरूमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताए । सम्मेलन यही मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।