एमाले दशौं महाधिवेशन :

देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको कमल थापाको भनाई

मंसिर १०,२०७८

-आस्था न्यूज

मंसिर १०, २०७८ काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए ।
 
राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरे ।  
 
थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे । 
 
अध्यक्ष थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरेपनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौं भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरुले गम्भीर रुपले समीक्षा गर्ने आशा लिएको बताए ।
 
थापाले ओलीको प्रशंसा गर्दै भने, ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्नेछ ।’
 
ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै त्यसबेला भारतीय नाकाबन्दीले देशले कष्ट भोगेको स्मरण गरे । उनले ओलीले सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय स्वाभिमानमा एक इञ्च प्रभाव नपर्ने गरी नाकाबन्दी समाधान गर्न सकेको बताए । यस्तै चीनसँग पनि रेल, तेल लगायतका विषयमा सम्बन्ध बनाउन सकेको बताए । उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।
 
राप्रपा नेता थापाले देश अहिले संकटको भूमरीमा परेको बताउँदै लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको संकेत पाइरहेको बताए । थापाले भने, ‘योजनाबद्ध र संगठितरुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरुको सनातन धार्मिक–सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालको इतिहासमा अहिले भष्टाचार व्यापक मात्रामा भइरहेको छ ।’
 
देशभित्र सामान्य जागिर पाउन नसकेकाले ४० लाख युवाहरु मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएको थापाले उल्लेख गरे । साथै देशमा बाह्य शक्तिहरूको प्रभाव र चलखेल बढेर गएको बताउँदै बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बन्न खोजेको दाबी गरे । 
 
यसका लागि महाधिवेशनबाट देशका लागि साहसिक निर्णयको अपेक्षा गरिरहेको उल्लेख गरे ।