‘नेपालबाट गरिबी हटाउन र समानताका लागि सूर्य चिन्ह समर्पित छ’: ओली

मंसिर १०,२०७८

-आस्था न्यूज

मंसिर १०, २०७८ काठमाडौं ।
एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् ।
 
पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।
 
‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’
 
ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।
 
ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । अध्यक्ष ओलीले भने-‘अहिलेको सकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन ।
 
प्रधानमन्त्री ज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि? तर प्रधानमन्त्री ज्यूलाई काम गर्न गाह्रो छ कि रु मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यस कारण उहाँलाई पनि गाह्रो छ कि?’
 
उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए । उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।
 
उनले अब लगातार पार्टी प्रवेश कार्यक्रम चल्ने पनि बताए । फागुनसम्म एमालेले निरन्तर प्रवेश कार्यक्रम देशभरि चलाउने उनको भनाइ थियो । उनले एमालेले चुनाव चिह्न बनाएको सूर्यको व्याख्या गायन्त्री मन्त्रमा भएको भन्दै गायत्री मन्त्रमा सूर्यको चर्चा गरिएझैं देश विकासका लागि एमालेको चर्चा हुने गरेको बताए । उनले भने, ‘नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झण्डा बोकेका छौं । देश, जनता, लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित छ ।’
 
 उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे । उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए । 
 
उनले भने- ‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौं । अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ । अन्तरिक्ष पनि हाम्रो हो ।’
 
एमाले अध्यक्ष ओलीले अगाडि भने–‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, फोर जि बिच्छ्याका छौँ । अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ । अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’ 
 
यस्तै उनले समुन्द्रमा आफूले नेपालको हक छ भनेर आफूले पहिलो पटक आफूले भनेको उल्लेख गरे । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उल्लेख गरे ।