कांग्रेस गण्डकी प्रदेश सभापतिमा ५ नेताको दावी

मंसिर १०,२०७८

-आस्था न्यूज

मंसिर १०, २०७८ काठमाडौं ।
कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते हुने प्रदेश समितिको निर्वाचनबाट पहिलो सभापतिको इतिहास लेखाउन नेताहरुको होड छ । गण्डकी प्रदेश समितिको सभापति बन्न पूर्व मन्त्री, सांसद र जिल्लाका नेताहरुको दौडधुप सुरु भएको छ ।
 
कास्कीका कांग्रेस नेता देवराज चालिसेले बुधबार प्रदेश कमिटी सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै अन्य आकांक्षीलाई उछिने । कांग्रेस पार्टी रुपान्तरणका लागि भन्दै पौडेल समूहका चालिसे प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बने ।
 
पौडेल समूहकै पूर्वमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिका लागि दाबी गरेका छन् भने कास्की कांग्रेसमा प्रभाव जमाइरहेका पूर्व सांसदसमेत रहेका शुक्रराज शर्माले नेतृत्व हात पार्न कसरत गरिरहेका छन् । पौडेल समूहकै मानिने शर्माले सभापति हात पार्ने कसरतका साथ पौडेल समूहलाई पनि प्रभावमा पारेर देउवा क्याम्पमा लागेकोसमेत कांग्रेस वृतमा चर्चा चलिरहेको छ ।
 
सभापति देउवा समूहका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीलाई पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ । तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि आफू प्रदेश सभापतिका लागि उम्मेदवार बनेको घोषणा गरिसकेका छन् ।
 
उम्मेदवारी घोषणा गर्ने दौडमा पहिलो बनेका कास्कीका नेता चालिसेले ११ जिल्लाका महाधिवेशन प्रतिनिधिले आफूलाई उम्मेदवारी दिन प्रेरित गरेको र जित्ने आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको दाबी गरे । ‘नेपाली कांग्रेसले नयाँ परिभाषा मागेको छ । २१ औं शताब्दीको पार्टीलाई हाँक्ने, नयाँ रक्तसञ्चार गर्ने नेता खोज्दैछ । कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ओजनदार व्यक्तित्व खोजिरहेको छ,’ चालिसेले उम्मेदवारी घोषणा गर्दै भने, ‘भूतपूर्वको बिल्ला भिरेर योग्यताको मापदण्ड पुग्दैन ।’
 
जन्मको आधारमा होइन, जनताको बीचबाट नेता उठ्नुपर्छ भनेर प्रदेश सभापतिमा आफू उम्मेदवार बनेको चालिसेको भनाइ छ । पार्टी परिवर्तको पक्षमा आफ्नो उम्मेदवारी भएको चालिसेले दाबी गरे । कास्की कांग्रेसको निर्वाचन सकिएलगत्तै प्यानलै घोषणा गरेर चुनावी अभियानमा लाग्ने चालिसेको भनाइ छ ।
 
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित चालिसे त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियु सभापतिसमेत हुन् ।
 
कास्कीमा १७ वर्ष पार्टी सभापति चलाएका पूर्वसांसद शुक्रराज शर्मा प्रदेश सभापतिका अर्का उम्मेदवार हुन् । पछिल्लो पटक २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका जगत विश्वकर्मासँग पराजित शर्माले कास्की कांग्रेसमा प्रभाव जमाउँदै आएका छन् ।
 
शर्माले जसरी पनि प्रदेश सभापति पद हात पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएको बताउँछन् । ७६ वर्षीय नेता शर्माले पार्टीलाई पद्धतिमा चलाउन आफ्नो उम्मेदवारी रहने बताए । ‘पहिलो पटक हुन लागेको पार्टीको प्रादेशिक समितिमा म सभापतिको उम्मेदवार हुँ । म यो क्षेत्रको पुरानो कांग्रेस नेता हुँ,’ शर्माले भने, अनुशासन र पद्धतिमा चल्ने कांग्रेस बनाउन, बलियो कांग्रेस बनाउन म लाग्ने छु ।’ पौडेल समूहकै नेता भनेर चिनिने शर्माले आफू कुनै पनि गुटमा नभएको दाबी गरे ।
 
‘म कुनै गुटको उम्मेदवार होइन, म कांग्रेसको नेता हुँ । कांग्रेसकै साझा उम्मेदवार हुँ,’ शर्माले भने, ‘पहिले कास्की जिल्ला समितिको निर्वाचन गराउने दायित्व छ । त्यो सकिनेबित्तिकै प्रदेश सभापतिका लागि अभियानमा लाग्ने छु ।’ कुनै पनि हालतमा प्रदेश सभापतिको उम्मेदवारबाट आफू पछि नहट्ने शर्माले दाबी गरे ।
 
कास्की जिल्ला कार्यसमितिको निर्माण कसरी हुन्छ, त्यसले पनि प्रदेशको राजनीतिलाई प्रभाव पार्ने छ । कास्कीमा पाँच जना सभापतिका आकांक्षी छन् । त्यसमा चार जना पौडेल समूहकै तर कास्कीमा प्रभाव जमाइरहेका नेताहरुको उपगुट नजिक छन् ।
 
कास्कीका तीन वटा क्षेत्रबाट तीन जनाले नै प्रदेश सभापतिका लागि दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट चालिसे र ३ बाट शर्माले दाबी गर्दा क्षेत्र नम्बर १ का पूर्व मन्त्रीसमेत रहेका नेता यज्ञबहादुर थापाले पनि दाबी गरेका छन् ।
 
२०६१ सालपछि २ कार्यकाल कास्की कांग्रेसको नेतृत्व गरेका यज्ञबहादुरले पार्टी रुपान्तरणका लागि प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए । ‘