सानातिना अन्तरविरोधमा नअल्झिन नेताहरूलाई ओलीको आग्रह

मंसिर १०,२०७८

-आस्था न्यूज

मंसिर १०, २०७८ काठमाडौं ।
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन् । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन् ।
 
चितवनको नारायणी नदी किनारमा गरिएको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले एकताको धारणा लिएर अगाडि बढ्नुपर्ने बताएका थिए । 
 
आपसमा सानातिना अन्तरविरोधमा नअल्झिएर राष्ट्र निर्माणको यस महान अभियानमा समझदारी, एकताबद्ध प्रयास, सक्रियताको आवश्यकता छ भन्ने बुझेर त्यस अनुसारको उचाइबाट काम गर्न आग्रह गर्दछु, ओलीले भने ।
 
उनले आफूहरूले सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदा, सहमति, एकता र लोकतान्त्रिक अभ्यासका साथ यस महाधिवेशन सम्पन्न गर्ने बताएका थिए । उनले भने, सहमतिका साथ होस् अथवा लोकतन्त्रिक अभ्यास गरेर होस्, आजबाट सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्दसत्र हुनेछ । 
 
पर्सिसम्म हामी अत्यन्त सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदारी, सहमति, एकता, लोकतन्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्नेछौं ।
 
महाधिवेशनमा सर्वाधिक जनसहभागिता रहेको भन्दै ओलीले पार्टी कार्यकर्तामा उत्साह उत्पन्न भएको बताए । बन्दसत्रमा अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले अर्को पाँच वर्षका लागि नेकपा ९एमाले०लाई मात्रै होइन देशलाई नै दिशानिर्देशन गर्ने, देशलाई नै बाटो देखाउने, देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर आउनेछ, उनले भने । एमाले महाधिवेशनको बन्दसत्रले १३ गते कार्यकर्ताका लागि शुभ सन्देश लिएर बाहिर आउने ओलीको भनाइ थियो ।