Trending :
 

कांग्रेसको दाङ सभापतिमा पौडेल निकट शंकर डाँगी निर्वाचित

मंसिर १२,२०७८

-आस्था न्यूज

मंसिर १२, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।
 
शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार शंकर र भुपबहादुर डाँगीबीच आइतबार दोस्रो चरणको निर्वाचन गर्ने तयारी थियो । तर सहमतिको आधारमा शंकर जिल्ला सभापति चुनिएका हुन् । उनी पौडेल(कोइराला पक्ष निकट हुन् ।
 
शनिबार भएको पहिलो चरणको निर्वाचनमा शंकरले ७७६ र उनका निकटतम प्रतिस्पर्धी भुपबहादुरले ५४५ मत पाएका थिए । यसैगरी अध्यक्षका अन्य दुई प्रतिस्पर्धी जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा दुई हजार १३८ मत खसेको थियो ।
 
आइतबार दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको बेला भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकर सभापति चुनिएको घोषणा गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
 
नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् ।