Trending :
 

एमाले केन्द्रीय कमिटीका लागि ३०१ जनाको नाम तयार, बन्दसत्र ७ बजेपछि मात्रै

मंसिर १२,२०७८

-आस्था न्यूज

मंसिर १२, २०७८ काठमाडौं ।
एमालेका चार नेताले पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि ३०१ जनाको नाम तयार गरी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । अध्यक्ष ओलीले प्रस्तावित नामको सूची तयार गर्न नेताहरू विष्णु पौडेल, शंकर पोखरल, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई जिम्मा दिएका थिए ।
 
त्यही अनुसार चार नेताहरूले प्रस्तावित सूची तयार गरेका हुन् । उक्त सूचीलाई अध्यक्षसँग छलफल गरी अन्तिम रुपमा दिइने र बन्द सत्रमा पेस गर्ने तयारी छ ।
 
मुख्य पदहरूमा कसलाई कसरी व्यव्स्थापन गर्ने भन्ने ठोस आकार चाही अध्यक्षसँगको परामर्शपछि हुनेछ ।
 
बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ । 
 
आइतबार बिहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम सुरु हुने तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा साढे ६ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
 
महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने जानकारी प्राप्त भएको प्रतिनिधि तथा नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली भने पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा छन् ।