Trending :
 

एमाले बन्दसत्रमा ओलीद्वारा १९ पदाधिकारीको नाम प्रस्तुत,घनश्याम र रावल लिष्टमा परेनन्

मंसिर १३,२०७८

-आस्था न्यूज

मंसिर १३, २०७८ काठमाडौं ।
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।
 
 
ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली ।’
 
 
अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम उनले सुनाए ।
 
 
त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिसकेपछि ओलीले सम्झिए– ‘ए सुवास नेम्वाङजीको नाम उपाध्यक्षमै छुटेछ । त्यही पनि आफैंले देखाउन आएपछि मात्रै देखियो । सुवाचन्द्र नेम्वाङ माथि नै छुटेछ । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ १ बरिष्ठ उपाध्यक्षदेखि सबैको नाम मिलाउँदा ७ जना उपाध्यक्षहरु हनुहुन्छ ।’
 
महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिसकेपछि ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
 
 
त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।
 
ओलीले यी नामहरु हलबाट पारित गर्नका लागि भने रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गरे । ‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता गर्न, प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’
 
केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाललाई भने उनले आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।    
 
पदाधिकारीमा यी नामहरु सकेसम्म मिलाएर घोषणा गरिएको ओलीले बताए ।  उनले भने, ‘मैले यी नामहरु अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत गरिरहेको छु । हाम्रोवीचमा सल्लाह पनि भो ।’
 
ओलीले यसो भनिरहँदा अध्यक्षमण्डलको समेत सदस्य रहेका भीम रावलले भने ओली पक्षबाट एकलौटी गरिएको भन्दै आपत्ति जनाएका छन् । अब अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुने सम्भावना बढेको छ ।
 
यद्यपि नेकपा एमालेले यसअघि प्यानल नबनाई चुनाव लड्ने आचार संहिता बनाएको थियो । तर, केपी ओलीले सहमतिका लागि भन्दै आफ्नो तर्फबाट १९ जनाको प्यानल नै तयार पारेका छन् ।
 
त्यसो त ओलीले सुवास नेम्वाङको नाम पढ्दा मात्र गल्ती गरेका होइनन्, ३०१ केन्द्रीय कमिटीको नामावली पढ्दा कैयौं नामहरु दोहोर्याएका थिए । अच्युत मैनालीको नाम दुई ठाउँमा परेकाले एक ठाउँमा हटाएर पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई केन्द्रीय सदस्य बनाउने ओलीले प्रस्ताव गरेका थिए । त्यस्तै उनले मधेसी क्लष्टरको नामै लिन छुटाए र जनजातिकै क्लष्टरमा मधेसी क्लष्टरको नाम पढेर सुनाए । ए, अर्को पो पढिएछ भन्दै उनले नामहरु वाचन गरेका थिए ।