एमाले महाधिवेशनः मतगणना शुरू, चार बजेसम्म परिणाम आइसक्ने
-आस्था न्यूज
मंसिर १४, २०७८ काठमाडौं ।
नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
मतदानको परिणाम ढिलोमा ४ बजेसम्म आउने बताइएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।
यस्तै,एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ । एमालेको महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी छ ।