राप्रपासँग विचार नमिलेपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै होः प्रचण्ड

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघि बोल्ने मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्न पनि भ्याए । 
 
सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए भने प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए । 
 
‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँहामी उस्तैउस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । 
 
पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’
 
 
उनले आफू धर्मनिरपेक्षवादी भएको र राष्ट्रवादी भएको स्पष्ट गरे । उनले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मतमतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताए ।