Trending :
 

पार्टी एकता कायम राख्न नसकेकोमा कमल थापाले मागे माफि

नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने:

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न नहुने बताएका हुन् । 
 
यसअघि सम्बोधनका क्रममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अभिभावकीय भूमिकामा रहने धारणा राखेका थिए । 
 
तर, लिङ्देनलाई जवाफ फर्काउँदै थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ । सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ ।’
 
उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आफूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका कार्यकर्तामा पुर्याउने बताए ।
 
उनले पार्टी एकता कायम राख्न नसकेकोमा माफि समेत मागे । उनले राजा आउ देश चलाउ नभएर, जनता आउ राजालाई ल्याउ भन्ने नारा रहेको बताए।
 
उनले यो महाधिवेशन अन्तिम एकता महाधिवेशन भएको समेत बताए। ‘यो अन्तिम एकता महाधिवेशन हो। अब भविष्यमा राप्रपालाई फुट्न नदिने संकल्प गरिसकेका छौं,’ उनले भने।